हुम्ला : हुम्लाको सर्केगाड गाउँपालिका–७ रोडिकोटमा सुत्केरी भएको केही समयपछि एक जना महिलाको मृत्यु भएको छ । स्वास्थ्यचौकीमा प्रसूति गराउन गएकी २८ वर्षीया रिता देवकोटाको रोडिकोट स्वास्थ्यचौकीमा मृत्यु भएको हो ।
देवकोटाले बच्चालाई जन्म दिएको डेढ घण्टा पछि मृत्यु भएको हो । मृतक देवकोटालाई शुक्रबारदेखि पानी बग्ने समस्या देखिए पनि आफन्तले ढिला मात्रै स्वास्थ्यचौकी पु¥याउँदा समस्या उत्पन्न भएको स्वास्थ्यचौकी इञ्चार्ज टिका बोहराले बताइन् ।
इञ्चार्ज बोहराका अनुसार, आफन्तले भूतप्रेत लागेको भन्दै सुत्केरी ब्यथाले च्यापेको एक दिनपछि मात्रै स्वास्थ्यचौकीमा ल्याउँदा समस्या भएको हो । रोडिकोट स्वास्थ्यचौकीमा कार्यरत अनमी लगायत सबै स्वास्थ्यकर्मी लागि परेर बच्चा जन्माउन सफल भए पनि त्यसको केही समयपछि देवकोटाको मृत्यु भएको उनले बताइन् ।
उनले भनिन्, “बच्चा जन्माउनु अगाडि रगत बग्ने समस्या थियो । बच्चा जन्माएपछि रगत बग्न रोकिए पनि त्यसको केही समयपछि मृत्यु भयो ।” मृतक देवकोटाको उद्धारका लागि खबर गर्न रात परिसकेको हुनाले थप समस्या निम्तिएको उनको भनाइ छ ।
गाउँपालिका स्वास्थ्य शाखालाई खबर गर्दा फोन नउठेको उनको भनाई छ । यसअघि देवकोटालाई सर्केगाड स्वास्थ्य शाखामा उपचार गराउँदा समस्या रहेको बताउँदा घरपरिवारले कुनै चासो नराखेको स्वास्थ्यकर्मीको भनाई छ ।






